धादिङ ०८ भाद्र
सदरमुकाम धादिङ बेसी र आसपासका क्षेत्रमा विगत ३/४ महिनादेखि विद्युत आपुर्तिमा अनियमितता भएको भन्दै हाम्रो नेपाल हामी नेपाली संस्था धादिङले जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल विद्युत प्राधिकरण, केन्द्रिय कार्यालय काठमाडौँलाई ज्ञापन पत्र बुझाएको छ ।
दिनमा कयौँ पटक विद्युत आउने जाने हुदा पनि त्यसको निराकरणको लागि कुनै पनि पहल नभएको र यसले व्यवसायी, बैंक तथा वित्तीय संस्थामा ठुलो असर गरेको तथा शिक्षक, विद्यार्थीको नियमित कक्षा संचालन हुन नसकेको, कलकारखानामा विद्युत नआउदा करडौँको घाटा भएको र विद्युत आउने जाने हुदा हाई वा लो भोल्टेजका कारण विद्युतीय सामाग्रीहरु पड्कने र जल्ने हुदा करोडौँको क्षति भएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
ज्ञापन पत्रमा धादिङको विद्युत आपूर्ती नियमति नहुनुमा विद्युत प्राधिकरण धादिङ शाखाका कर्मचारीहरुको इन्भटर र जेनेरेटर व्यवसायीहरुसँग अवैध साठगाठ त छैन ? भन्दै आशंका समेत गरिएको छ । अनियमित विद्युतका कारण बिग्रिएका कम्प्युटर, ल्यापटप, टेलिभिजन लगाएत सामाग्रीहरुकोे क्षतिपूर्ति दिनुपर्ने ज्ञापन पत्रमा माग गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालमार्फत ज्ञापन पत्र नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालयमा पठाइएको हो । धादिङका अधिकाशं क्षेत्रमा सामान्य झरी बादलमा पनि विद्युत आपुर्ती नहुने तथा बिग्रिएका ठाउँमा प्राधिकरणका कर्मचारीहरुले तत्काल मर्मत नगर्ने भन्दै विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रप्रति नागरिकहरुबाट गुनासो आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस