धादिङ १५ असोज
३१ औ जेष्ठ नागरिक दिवस धादिङमा पनि विभिन्न कार्यक्रमका साथ मनाइएको छ । “सम्मान र सद्भावका प्रतीक जेष्ठ नागरिक” भन्ने मूल नाराका साथ नीलकण्ठ नगरपालिकाभित्रका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ ।
नीलकण्ठ नगरपालिका धादिङको सहयोग तथा नगरपालिका जेष्ठ नागरिक संघ, धादिङको आयोजनामा भएको कार्यक्रममा बासुदेव लम्सालको अध्यक्षता एवं नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यता रहेको थियो भने सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारी लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु र जेष्ठ नागरिकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख ढुङ्गानाले जेष्ठ नागरिकहरुका लागि नगरपालिकाले औषधी उपचार निःशुल्क गरेको, सामाजिक सुरक्षा भत्ता वडा–वडामा गएर वितरण गरेको बताउँदै जेष्ठ नागरिकहरुको सम्मान र सहयोगका लागि आवश्यक बजेट समेत विनियोजन गरेको बताउनु भयो ।
कार्यक्रममा उपस्थित जेष्ठ नागरिकहरुलाई नगद सहित, पौष्टिक आहार, एनसेलको सिम सहित र खादा ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा सहभागी जेष्ठ नागरिकहरुले राज्यबाट प्राप्त गर्ने सामाजिक सुरक्षा भत्ता अशक्त र अपाङ्गता भएका जेष्ठ नागरिकहरुको हातमा पर्ने गरी वितरण गर्नुपर्ने माग गरेका थिए भने सार्वजनिक सवारी साधनहरुले जेष्ठ नागरिकहरुलाई भाडादरमा राज्यले निर्धारण गरेबमोजिम छुट दिनुपर्ने बताएका थिए ।
प्रतिक्रिया दिनुहोस