धादिङ ०९ श्रावण
बिहिबार साँझ परेको अविरल वर्षासँगै आएको पहिरोले थाक्रे गाउँपालिका वडा नं. ६ कार्की गाउँमा घर पुरिदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही गाउँका ५२ वर्षका सानुबाबु पन्त रहेका छन् । वर्षासँगै घर माथिको पहिरो खसेपछि गोठमा भएको गाई, भैंसी बाख्रा फुकाउन जाँदा पहिरोले पुरिएर पन्तको मृत्यु भएको थाक्रे गाउँपालिकाका उपाध्यक्ष अम्बिका रुपाखेतीले जानकारी दिनुभयो । धादिङमा वर्षाका कारण पहिरोमा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ । यस्तै पहिरोका कारण धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मेवाबारी र सिमलघारीमा एक÷एक घर उच्च जोखिममा परेका छन् । करिब १०० मिटर माथिबाट आएको पहिरोले दुर्गाबहादुर श्रेष्ठको घर उच्च जोखिममा परेको छ । यस्तै कृष्ण कुमार श्रेष्ठको घर पनि वर्षाका कारण भासिएको छ । पहिरोमा परी दुर्गा बहादुर श्रेष्ठको गोठ पुरिदा गोठमा बाधेका बस्तुभाउ समेत मरेका छन् ।
प्रतिक्रिया दिनुहोस