स्वास्थ्यको क्षेत्रमाा अरु पालिकाभन्दा त्रिपुरा सुन्दरी गाउँ पालिका उत्कृष्ठ : स्वास्थ्य संयोजक यम ब. श्रेष्ठ
२३ बैशाख २०७६, सोमबार १६:१८
रेडियो बिहानी संवाददाता
धादिङ जिल्लाको साविकका मूलपानी, सल्यानटार, आगिञ्चोक र त्रिपुरेश्वर गाउँ विकास समिति मिलेर हाल त्रिपुरा सुन्दरी गाउँ पालिका बनेको छ । त्रिपुरा सुन्दरी गाउँ पालिकामा स्वास्थ्य संयोजकको रुपमा काम गर्दै आउनु भएका स्वास्थ्य संयोजक यम बहादुर श्रेष्ठसँग रेडियो विहानी ९७.६ मेगाहर्जको लोकप्रिय कार्यक्रम विहानी संवादमा प्रस्तोता सञ्जय देवकोटाले गर्नुभएको कुराकानी ।
त्रिपुरा सुन्दरी गाउँ पालिकाको समग्र स्वास्थ्यको अवस्था कस्तो छ ?
धादिङ जिल्ला भित्र रहेका विभिन्न पालिकामध्ये स्थानीय स्तरको तुलनामा भौगोलिक र सेवा सुविधाको दृष्टिकोणले काम गर्न र गराउन असहज गाउँ पालिका मानिन्छ त्रिपुरा सुन्दरी गाउँ पालिका । गाउँ पालिकाले काम गर्न थालेपछि मैले जिम्मेवारी पाएसँगै स्वास्थ्यको क्षेत्रमा नवीनतम काम गर्ने जमर्को गरेका छौँ । यस सन्दर्भमा त्रिपुरा सुन्दरी गाउँ पालिकामा स्वास्थ्य सेवा प्रवाह गर्न एउटा प्राथमिक स्वास्थ्य केन्द्र सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्र, आगिञ्चोक स्वास्थ्य चौकी, मूलपानी स्वास्थ्य चौकी, त्रिपुरेश्वर स्वास्थ्य चौकी, सल्यानकोट स्वास्थ्य चौकी गरी ४ वटा स्वास्थ्य चौकी र एउटा प्राथमिक स्वास्थ्य केन्द्र रहेका छन् । साथै चिसापानी सामुदायिक स्वास्थ्य इकाई पनि रहेको छ । यी संस्थाहरुबाट त्रिपुरा सुन्दरी गाउँ पालिकाभित्रका बासिन्दालाई स्वास्थ्य सुविधाहरु प्रदान भइरहेको छ । हामीले स्वास्थ्य सेवामा पनि ३ प्रकारका सेवा प्रवाह गरिराखेका छौँ । १. प्रोमोटिभ, २. क्युरेटिभ र ३. प्रिभेन्टिभ ।
त्रिपुरा सुन्दरी गाउँ पालिकाभित्र रहेका यी ५ स्वास्थ्य केन्द्रबाट गाउँ पालिकाका सबै बासिन्दाले सहज सेवा लिन पाएका छन् ?
वडा नं. २, ३, ४, ६, ७ मा साविककै स्वास्थ्य केन्द्र छन् । यसै स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवा लिइरहेका छन् भने वडा नं. १ का बासिन्दाले प्राथमिक स्वास्थ्य केन्द्र सल्यानटारबाट सेवा सुविधा लिदै छन् । वडा नं. ५ मा आगामी वर्ष स्वास्थ्य चौकी बन्दै छ । सामुदायिक स्वास्थ्य इकाईबाट वडा नं. ५ का बासिन्दालाई स्वास्थ्य सेवा प्रवाह गरिदै आइरहेका छौँ । त्रिपुरा सुन्दरी गाउँ पालिकामा १५ सैयाको अस्पताल बनाउन हरपल लागिरहेका छौँ । विगत वर्षदेखि हालसम्म आउँदा स्थानीयलाई स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सम्बन्धी शिक्षा दिन विभिन्न कार्यक्रमहरु गर्दै आएका छौँ । गतवर्ष आँखा शिविर सञ्चालन गरी १४ सय भन्दा बढी स्थानीयलाई सेवा प्रदान गरेका थियौँ । जसबाट ५० जना भन्दा बढीले मोतियाविन्दुको निःशुल्क अप्रेशन गरी स्वास्थ्य सेवा लिएका थिए । त्रिपुरा सुन्दरी गाउँ पालिकाले एउटा अभियान चलाएको छ । जसमा गर्भवती महिलाले बच्चा जन्माउँदा स्वास्थ्य चौकीमै बच्चा जन्माउन पर्छ भनेर अभियान सुरु गरेका छौँ । जसले गर्दा सानो हेलचेक्र्याईले कुनै पनि गर्भवती महिलाले आफ्नो ज्यान गुमाउँन नपरोस् ।
स्वास्थ्य चौकीमै गएर सुत्केरी गराउनका लागि हाम्रा स्वास्थ्य चौकीहरुमा साधन, स्रोत र पर्याप्त स्वास्थ्यकर्मीहरु छन् ?
साधन स्रोत र स्वास्थ्यकर्मीको हिसाबले हामीले पूर्ण व्यवस्था गरेका छौँ । स्वास्थ्य चौकीमा आएर सुत्केरी गराउँन बारम्बार अनुरोध र सन्देश प्रवाह पनि गरिरहेका छौँ । स्वास्थ्य चौकीमा गएर सुत्केरी गराउँदा प्राप्त हुने सेवा सुविधाको बारेमा जानकारी दिने र पाउने सुविधाहरुमा पनि केही बिस्तार गरेका छौँ । त्रिपुरा सुन्दरी गाउँ पालिकामा भएका सबै स्वास्थ्य चौकीमा २४ सै घण्टा प्रसुती सेवा प्रदान गर्नको लागि दक्ष जनशक्तिको माध्यमबाट प्रसुती सेवा प्रदान गरिरहेका छौँ । त्यस्तै सुत्केरी हुनु भन्दा १/२ दिन अगााडि स्वास्थ्य चौकीमा नै आएर बस्ने र सुत्केरी भएको १/२ दिन पछि पनि त्यही बस्न पाउने व्यवस्था गरिएको छ । जसलाई प्रसुती प्रतिक्षालय घर नामाकरण गरेका छौँ । संघीय सरकारले व्यवस्था गरेको यातायात खर्चसँगै त्रिपुरा सुन्दरी गाउँ पालिकाले प्रोत्साहन स्वरुप रु १ हजार रुपैया दिने गरेका छौँ । स्वास्थ्य चौकीमा परीक्षण गर्नका लागि आउने गर्भवती महिलालाई क्याल्सियम चक्की निःशुल्क वितरण गर्ने गरेका छौँ । मानिसमा स्वास्थ्य शिक्षाको विकाससँगै घरमा सुत्केरी हुनेको सङ्ख्या कम र स्वास्थ्य चौकीमा सुत्केरी हुनेको सङ्ख्यामा वृद्धि भएको छ । जसले मातृ मृत्युदर र शिशु मृत्यु हुने सम्भावना कम गरेको छ । सुरक्षित मातृत्वको लागि गरिएको यो सानो पहल जारी राख्ने सोचमा छौँ । सबै बालबालिकाले खोप लगाउन् भन्ने हेतुले बैशाख महिनामा हामीले “खोज र खोप” भन्ने अभियान चलाएका छौँ । यसै अभियानमार्फत डाटा सङ्कलन गरी सबै बालबालिकालाई खोप लगाई वैशाख महिनामै वृहत कार्यक्रमको आयोजना गरी त्रिपुरा सुन्दरी गाउँ पालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणा गर्ने छौँ । यसैगरी गत चैत्रमा हामीले ७ वटै वडामा जेष्ठ नागरिक प्रशिक्षण कार्यक्रम गरेका थियौँ । जसमा ११ सय जेष्ठ नागरिकहरुले स्वास्थ्य परीक्षण गराएर लाभ लिनुभएको थियो । जसले त्रिपुरा सुन्दरी गाउँ पालिकाले स्वास्थ्य क्षेत्रमा सर्तकता अपनाएको छ भन्ने सन्देश प्रवाह भएको छ । अर्को यही बैशाखमै हामीले एक अभियान चलाएर गर्भवती तथा सुत्केरी महिलाहरुलाई बढी ध्यान दिनुपर्छ, हेरविचार गर्नुपर्छ भनेर सासू बुहारी अन्तरक्रिया कार्यक्रम गरेका थियौँ । गर्भवती अवस्थालाई किन गम्भिर अवस्थाको रुपमा लिइन्छ ? भन्ने सन्देश पनि प्रवाह गरेका थियौँ ।
राज्यले स्वास्थ्य चौकीमा ३५, प्राथमिक स्वास्थ्य केन्द्रमा ५८ र अस्पतालहरुमा ७० किसिमका औँषधीहरु निःशुल्क प्रदान गर्ने व्यवस्था मिलाएको छ । त्यसका लागि बजेटको व्यवस्था समेत गरेको छ । त्रिपुरा सुन्दरी गाउँ पालिकामा यी सबै प्रकारका औषधीहरु उपलब्ध छन् ?
नेपाल सरकारले निःशुल्क वितरणका लागि सूचिकृत गरेका औषधीहरु १२ महिना नै प्रवाह भइरहोस् भन्ने उद्देश्यले हामीले प्रयास गरिरहेका छौँ । साथै औषधीहरु किनेर पनि वितरण गर्ने गरेका छौँ । तर कुनै बेला प्रयास गर्दा पनि उपलब्ध गराउन नसकिने वाध्यता रहन्छ तथापि हामीले गर्न सक्ने कामहरु गरिरहेका छौँ ।
मौसम परिवर्तनका कारण फैलने विभिन्न रागहरुका बारेमा जनचेतनामूलक स्वास्थ्य शिविरहरु सञ्चालन गर्ने कार्यक्रमहरु छ कि छैन ?
मौसमी समस्या जस्तै गर्मीयाममा फैलन ज्वरो, झाडा पखला, आउँ, टाइफाइड, हैजाका प्रकोपहरु फैलन सक्छ भनेर हामी सचेत र सजग छौँ । साथै रोग लागिहालेमा त्यसको न्युनीकरण गर्न हामी तयारी अवस्थामा छौँ । साथै कुनै बस्ती वा टोलमा कुनै रोग लागेमा हामी जुनसकै बेला पनि त्यस ठाउँमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्नको लागि हामी निरन्तर जुटिरहेका छौँ । निकट भविष्यमा महिलासँग सम्बन्धित रोगहरु जस्तै स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर जस्ता रोगहरु लाग्ने भएकाले महिलासँग सम्बन्धित एउटा शिविको रुपमा सञ्चालन गरी सेवा प्रवाह गर्ने छौँ । विद्यालयमा पढ्दै गरेका बालबालिकाहरुको स्वास्थ्यमा कस्तो असर परेको छ ? त्यसलाई मध्यनजर विद्यालय विद्यालयमा प्राविधिक टोली लगेर बालबालिकाहरुको निःशुल्क रुपमा आँखाको जाँच गराउँदै छौँ साथै रोगबाट बढी प्रभावित विद्यार्थीहरुलाई जाँचको लागि थप सहयोग गर्ने छौँ ।
प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार
नीलकण्ठ –१४मा चौथो 7A साइड खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरु
प्रतिक्रिया दिनुहोस