प्रशान्त धवन्या
धादिङ १९ बैशाख
निलकण्ठ नगरपालिका वडा नं १० ज्यामरुङ सेराबेसी मा रहेको जनभावना आधारभूत विद्यालय र त्रिपुरा सुन्दरी गाउँ पालिका वडा नं. ७ मा रहेको जनज्योती विद्यालयमा २ दिने निः शुल्क स्वास्थ्य शिविरको आज सम्पन्न भएको छ । टुकी नेपाल समाजको आर्थिक सहयोगमा जिल्ला अस्पताल धादिङका स्वास्थ्यकर्मीहरु र टुकी नेपाल समाजबाट सञ्चालित ज्यामरुङ सामुदायिक स्वास्थ्य परियोजनाका स्वास्थ्यकर्मीहरुको सहकार्यमा सञ्चालन भएको उक्त स्वास्थ्य शिविरमा सम्बन्धित विद्यालयका विद्यार्थी अभिभावक, शिक्षक गरी अनुमानित ३१० जनाले स्वास्थ्य परिक्षण गराएका थिए ।
यस्तै टुकी नेपाल समाजको आर्थिक सहयोगमा सञ्चालित स्थानिय कृषकहरुको लागि प्राङ्गरिक मल, कृषि तथा सचेतनामूलक कार्यक्रमको पनि बिहिबार एक कार्यक्रमका बीच समापन गरिएको हो । टुकी नेपालको आर्थिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा टुकि नेपाल समाजका सदस्य वुद्धि विष्टको सभापतित्व र नीलकण्ठ नगरपालिका वडा नं १० का वडा अध्यक्ष विजयराज इटनीको प्रमुख आतिथ्यता रहेको थियो । साथै विभिन्न संघसस्थांका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । नीलकण्ठ नगरपालिका वडा नं १० का स्थानिय कृषकहरुलाई ५ दिने प्राङ्गरिक मल बनाउने तरिका, त्यसको प्रयोग, फाइदा र बेफाइदाबारे तालिम मार्फत जानकारी गराइएको हो । ५ दिन सम्म संचालन भएको उक्त तालिममा ३५ जना कृषकहरुको सहभागिता रहेको थियो ।चितवनबाट आउनु भएका कृषि विज्ञ हेम सुवेदी र ईश्वरि ढकालले प्रशिक्षण गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस