राष्ट्रपति विद्यादेवी भण्डारी आज चीनको राजकीय भ्रमणका लागि प्रस्थान गर्नुभएको छ । नेपाल वायु सेवा निगमको जहाज मार्फत चीनको सियान पुग्नुभएको हो । राष्ट्रपतिसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल लगायत करिब ५० जनाको भ्रमण दल चीन भ्रमणमा सहभागी हुनुभएको छ । सियानबाट राष्ट्रपति भण्डारी चीनको राजधानी बेइजिङ जाने कार्यक्रम छ । राष्ट्रपति भण्डारी शुक्रबारदेखि ३ दिनसम्म हुने बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को दोस्रो शिखर सम्मेलनमा सहभागी हुन चीन जानुभएको हो । भ्रमणका क्रममा दुवै देशका राष्ट्रपतिबीच उच्चस्तरीय वार्ता हुने र केही सम्झौतामा हस्ताक्षर हुने छ । राष्ट्रपति भण्डारी अन्तराष्ट्रिय बागवानी सम्मेलनमा सहभागी हुने र नेपाली स्टलहरुको अवलोकन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारीले बेइजिङमा आयोजना हुने नेपाल र चीनका व्यापारिक समुदायको संयुक्त बैठकलाई पनि सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको छ । चीन भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले तिब्बतको राजधानी ल्हासाको पनि भ्रमण गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस