२१ श्रावन २०८०
पछिल्लो समय धादिङसहित देशका विभिन्न जिल्लाका बालकदेखि वृद्धसम्ममा आँखा पाक्ने समस्या बढ्दै गएको छ । केही साता अघिलदेखि धादिङमा आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएको आँखा केन्द्र धादिङका अधिकृत रामसिं तामाङले जानकारी दिनुभयो ।
आँखामा भएको संक्रणका कारण दैनिक सयौं बिरामीहरु आँखा उपचारका लागि अस्पतालसम्म पुग्न थालेको तामाङको भनाई रहेका छन । जिल्ला सामुदायिक आँखा केन्द्र धादिङमा पछिल्लो दुइ सातामा आँखा उपचार गराउन आउने ३०० सय भन्दा बढी बिरामीमध्ये ७५ प्रतिशत बिरामीले आँखा पाक्ने समस्या लिएर आउने गरेका तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार केही समय अघिसम्म मोतिया बिन्दु, आँखामा मासु पलाउने लगायतका समस्या लिएर उपचारका लागि अस्पताल आउने गरेका थिए ।
आँखा पाक्ने समस्या एडिनो भाइरसका कारण हुने तामाङले जानकारी दिनुभयो। उहाँका अनुसार आँखा पाक्ने समस्यालाई चिकित्सकीय भाषामा एडिनो भाइरस कन्जन्टिभाइटिस भनिन्छ । उहाँले भाइरल इन्फेक्सन र ब्याक्टेरीयाको कारणले आँखा पाक्ने समस्या देखिने गरेको बताउनुभयो ।
धेरैजसो आँखा रातो हुने र चिप्रा आउने समस्या भएका बिरामीहरु अस्पताल आउने गरेको बताउनु भयो । हरेक वर्खायाममा पानी परेर रोकिएपछि आँखा पाक्ने समस्या देखिने गरेको नेत्र विशेषज्ञहरु बताउँछन्। तर, यस वर्ष भने धेरै स्थानमा प्रकोपको रुपमा यस्तो समस्या देखा परेको छ।
तामाङका अनुसार आँखा पाक्ने समस्या देखिँदा विभिन्न व्यक्तिपिच्छे फरक फरक लक्षण देखिने गरेको छ । जसअनुसार चिलाउने, रातो रातो देखिने, पाक्ने जस्ता समस्या देखिने गरेको छ। साथै केही विरामीमा रुघाखोकी र ज्वरो समेत आउने गरेको स्पष्ट पार्नुभयो। धेरै जसो व्यक्तिहरुलाई सुरुमा आँखाबाट आँसु आउने, बिझाउने हुने, अफ्ठ्यारो महसुस हुने, आँखा रातो हुने, आँखामा चिप्रा आउने हुने नेत्र विषेशज्ञहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस