२६ असार २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामान्य विषय उठ्ने वित्तिकै संसद् अवरोध गर्ने संस्कारमा परिवर्तन ल्याउनुपर्ने बताएका छन् ।
लोकतन्त्रमा राजनीतिक दलका आफ्ना मत र मतभेदसमेत रहने उल्लेख गर्दै उनले सामान्य बिमती हुने वित्तिकै संसद् नै अवरोध गर्ने रोग हटाउनुपर्ने बताए। प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षले राजीनामा माग्दैमा दिनुपर्ने हो भन्दै प्रश्नसमेत गरे।
प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले मतभेदका पनि आफ्ना सीमा र मर्यादा रहेको बताए। प्रधानमन्त्री दाहालले भने, “मतभेदका पनि आफ्ना मर्यादा हुन्छ, आवेग र हतारमा टिप्पणी नगरौँ ।” दलगत स्वार्थको परम्परागत प्रदर्शनबाट जनता आजित भइसकेको कुरालाई नबिर्सन समेत उनले आग्रह गरे। प्रधानमन्त्री दाहालले स्पष्टीकरणको मौका नदिई लगातार राजीनामा मागिनु संसदीय मर्यादाभित्र नरहेको स्पष्ट पारे।
उनले भने, “तीन दिनसम्म किन संसद् अवरुद्ध गरियो ? म सुरुदेखि स्पष्ट पार्न बसेको थिए । मलाई थाहा छैन किन संसद् अवरुद्ध गरियो ? राजीनामा नआएसम्म संसद् चल्न दिँदैन किन भनियो बुझ्न सकेको छैन ।”
प्रतिपक्षलाई प्रश्न उठाउने हक भएको उहाँको भनाइ छ । उनले भने, “राजीनामा नदिएसम्म संसद् चल्न दिँदैनौँ किन भनियो ? के यही हो संसदीय अभ्यास ? प्रतिपक्षलाई हक छ म मान्छु । उहाँहरूले प्रश्न उठाउन सक्नहुन्छ ।
नैतिकताको प्रश्न उठाउन पाइन्छ ।” संसद्मा पटक पटक नैतिकताको विषय उठेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भने, “नैतिकताका कसले देखायो, कसले देखाएन, म इतिहास हेर्न अनुरोध गर्दछु ।” विगतमा आफूले दुई पटक नै नैतिकताको धरातलमा टेकेर राजीनामा दिएको उनले स्मरण गरे। उनले कोही कसैले भनेकै आधारमा राजीनामा नदिने बरु आफ्नो अन्तरआत्माले भने एक मिनेट पनि पदमा नबस्ने स्पष्ट पारे।
साभार ः अनलाइन
प्रतिक्रिया दिनुहोस