धादिङ ०२ असार
देशभर मनसुन फैलन ढिलाइ भएका कारण मध्य र पश्चिम तराईमा चर्को घाम र तातो हावाले नागरिक हैरान बनेको छ ।
गत बुधवार नेपाल भित्रिएको मनसुन देशभर फैलन ढिलाइ भएको छ । तराई मधेस क्षेत्रमा अझै दुई÷तीन दिन वर्षा गराउने प्रणाली सक्रिय हुने सम्भावना कम भएकाले गर्मी कायमै रहने त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक तथा मौसमविद् बिनोद पोखरेलले जानकारी दिनुभयो ।
मध्य र पश्चिम तराईका नागरिक चर्को घाम र तातो हावाका कारण हैरान भएका छन् । आउँदो मङ्गलवारदेखि पूर्वी र मध्य क्षेत्रमा मनसुन सक्रिय हुने र आउँदो हप्तादेखि भने नेपालभर नै मनसुन सक्रिय भएर पानी पर्ने पोखरेलले बताउनुभयो ।
यस्तै, भारतका विभिन्न क्षेत्रमा प्रभाव पारिरहेको बिपरजोय आँधीका कारण आउँदो सोमवार पश्चिम नेपालमा वर्षाको सम्भावना रहने भए पनि ठूलो पानी पर्ने सम्भावना नरहेको जलवायु विज्ञ डा.धर्मराज उप्रेतीले बताउनुभयो ।
अहिले मधेस प्रदेशका सबैजसो जिल्लाको तापक्रम ३२ डिग्री सेल्सियसभन्दा माथि छ भने चितवनभन्दा पश्चिमतर्फ रहेका तराई मधेस जिल्लाहरुको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ ।
तस्वीर अनलाईन
प्रतिक्रिया दिनुहोस