धादिङ ६ फागुन
धादिङको सिद्धलेक गाउँपालिका स्थित सिद्धलेक (सिद्धबाबा मन्दिरमा) तेस्रो सिद्धलेक धार्मिक पर्यटन तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।
सिद्धलेक ढेवाडाँडा समाज नेपालको अध्यक्ष दिल नारायण श्रेष्ठको सभापतित्व बागमति प्रदेशका निवर्तमान मूख्यमन्त्री एवम् संघीय सांसद राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिति पाण्डेले धादिङ जिल्लाकै ऐतिहासिक धार्मिक तथा पर्यटन स्थल सिद्धलेक सिद्धबाबा मन्दिरको संरक्षण र बिकासमा आफ्नो तर्फबाट भरपुर सहयोग गर्ने बताउनुभयो । आफु सरकारको नेतृत्वमा पटक पटक पुगीरहदा धादिङको चिन्ता र चासो दिने गरेको बताउदै निर्वाचनको बेला गरिएका प्रतिबद्धताहरुलाई क्रमस पुुरा गर्ने बताउनुभयो ।
सिद्धलेक ढेवाडाँडा समाज नेपालको आयोजना,सिद्धलेक गाउँपालिकाको प्रायोजनमा धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सवको आयोजना गरिएको हो । महोत्सवमा राष्ट्रिय कलाकार चर्चित लोक गायक कुलेन्द्र बि.क.,सुमन परियार, बालचन्द्र बराल, लोक गायीका सुमन थापा मगर, हास्य कलाकार बेगम नेपाली(भट्भटे), मनराज श्रेष्ठ, मोडल टिका भुजेल, स्थानीय कलाकारहरु सिर्जन खत्री, सोभित श्रेष्ठ, प्रवेश श्रेष्ठ प्रमोद खनाल लगायत गोधुँली साँस्कृतिक परिवारको विशेष प्रस्तुति रहेको थियो ।
कार्यक्रकै अवसरमा नेपाल रेडक्रस सोसाईटी नलाङ उपशाखाको आयोजना तथा सिद्धलेक ढेवाडाँडा समाज नेपालको सह–आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तादान गर्नेहरुमा महिला ११ र पुरुष २७ जना गरि ३८ जनाले रक्तदान गरिएको नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाका सभापति नारायण तिमल्सिनाले बताउनुभयो ।
आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि सिद्धलेक ढेवाडाँडा समाज नेपालले गाउँपालिकाको समन्वयमा विगत केहीबर्षदेखी यो मेला मनाउदै आएको छ । जिल्लाकै ऐतिहासिक धार्मिक तथा पर्यटन स्थल धादिङ्गको सिद्धलेक गाँउपालिकाभित्र पर्ने साविकको नलाङ्ग र सलाङ्ग हाल वडा नं. २, ३ र ४ को सिमानामा अवस्थित सिद्धलेक तथा ढेवा डाँडामा हरेक बर्ष महाशिवरात्रीमा मेला लाग्ने गर्दछ ।
प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर भव्य रुपमा मनाएको छ । महाशिवरात्रि पर्व आज धादिङसहित देशभरका शिवालयहरुमा बाजागाजा सहित कलश यात्रागरी विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाएको छ ।
कार्यक्रममा धादिङका १३ वटै स्थानीय तहका जनप्रतिनिधी,सुरक्षा निकाय,पत्रकार लगायत हजारौँ भक्तजनहरुको भव्य उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस