धादिङ ११ श्रावण
यही श्रावण ५ गते राती घरमाथिबाट पहिरो खसेर घर पुरिदा मृत्यु भएका त्रिपुरा सुन्दरी गाउँपालिका वडा नं. ६ गोलाङका मिलन खांड, सम्झना खांड र अञ्जिता खांडको परिवारलाई राष्ट्रिय युवा संघ नेपालले आर्थिक सहयोग गरेको छ । आइतबार घटनास्थलमै पुगेर राष्ट्रिय युवा संघ नेपालले मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै तत्कालका लागि रु. ५० हजार नगद सहयोग हस्तान्तरण गरेको हो । सहयोग हस्तान्तरण कार्यक्रममा संघीय सांसद खेम प्रसाद लोहनी, नेकपा धादिङका अध्यक्ष नेत्र प्रसाद पौडेल, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य रमेश आचार्य, केन्द्रीय विभागका सदस्य बाबु छत्कुली, युवा संघ धादिङका अध्यक्ष दिपक खतिवडा, अनेरास्ववियु केन्द्रीय सदस्य सञ्जय दुवाडी, नेकपा धादिङका नेताहरु रामहरि अधिकारी, शान्ता पाण्डे, मदन भण्डारी स्मृति प्रतिष्ठान धादिङका अध्यक्ष उमेश थापा, मदन भण्डारी स्पोर्ट्स एकेडेमी धादिङका अध्यक्ष रमेश अधिकारी लगायत स्थानीय नेताहरुको उपस्थिति रहेको सहकर्मी हरि विश्वकर्माले जानकारी दिनुभयो । श्रावण ५ गते राति घरमाथिबाट आएको पहिरोले घर पुरिदा एकै परिवारका २२ वर्षका श्रीमान मिलन खांड, १९ वर्षीया श्रीमती सम्झना खांड र डेढ वर्षीया छोरी अञ्जिता खांडको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस