धादिङ ०१ श्रावण
धादिङमा आर्थिक वर्ष २०७६/०७७ मा २ हजार ४ सय २ जनाले रक्तदान गरेका छन् । आर्थिक वर्षको ४ महिना लकडाउन भएता पनि उत्साहजनक रुपमा रक्तदाताहरुले रक्तदान गरेका हुन् । आर्थिक वर्ष २०७६/०७७ मा संस्थागत रुपमा ३४ वटा, पारिवारिक १ र आकस्मिक रुपमा विभिन्न समयमा रक्तदान भएको छ । जसमा ६ सय ५४ जना महिला र १ हजार ७ सय ४८ जना पुरुष स्वयंसेवी रक्तदाताहरु गरी २ हजार ४ सय २ जनाले रक्तदान गरेका हुन् । सो आर्थिक वर्षमा सबैभन्दा धेरै धादिङ सोसियल भोलेन्टियर नेपालले आयोजना गरेको बृहत खुल्ला रक्तदानमा पुरुष १ सय ४१ र महिला ५१ गरी कुल १ सय ९२ जनाले रक्तदान गरेका छन् । यस्तै दोस्रो नम्बरमा जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा पुरुष १ सय १९ र महिला २६ गरी कुल १ सय ४५ रहेका छन् भने तेस्रो स्थानमा नेपाल रेडक्रस सोसाइटी गजुरी उपशाखाले गरेको रक्तदान कार्यक्रममा महिला १८ र १ सय १ पुरुष गरी १ सय १९ जनाले रक्तदान गरेका हुन् ।
पालिकागत रुपमा हेर्दा सबैभन्दा धेरै नीलकण्ठ नगरपालिकामा रक्तदान भएको देखिन्छ । नीलकण्ठ नगरपालिकाभित्र मात्र २६ वटा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । यस्तै बेनिघाट रोराङ गाउँपालिकामा ३ वटा रक्तदान कार्यक्रमको आयोजना भएको छ भने गजुरी गाउँपालिकामा २, गल्छी गाउँपालिकामा १, त्रिपुरा सुन्दरी गाउँपालिकामा २, धुनिबेसी नगरपालिकामा १ र सिद्धलेक गाउँपालिकामा १ वटा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
रक्तदान गर्ने स्वयंसेवी रक्तदाताहरुलाई सरल सहज रुपमा रक्तदान गर्ने वातावरण मिलाई रक्तदानलाई मानवीय सेवाको रुपमा हेर्नुपर्ने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङका उपमन्त्री एवं रक्तदान कार्यक्रमका नेतृत्वकर्ता नारायण कुमार श्रेष्ठले बताउनुभयो । यस्तै श्रेष्ठले धादिङ जिल्लालाई स्वयंसेवी रक्तदाताहरुले निःशुल्क दिएको रगत घाइते बिरामीहरुले पनि सहज र सरल तरिकाबाट निःशुल्क रुपमा उपलब्ध गराउनका लागि जिल्लाभित्रका १३ वटै स्थानीय सरकारसित सहकार्य र समन्वय भइरहेको बताउनुभयो ।
आर्थिक वर्ष २०७६/०७७ मा कोरोना भाइरसका कारण लक्ष्य भन्दा केही कम रगत सङ्कलन भएता पनि आर्थिक वर्ष २०७७/०७८ मा ३५ सय पिन्ट रगत सङ्कलन गर्ने लक्ष्य रहेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङका सभापति नारायण तिमल्सिनाले बताउनु भयो । सभापति तिमल्सिनाले पालिकास्तरमा हरेक पालिकामा कम्तिमा २ पटक रक्तदान गर्ने, सबै संघ संस्था तथा सहकारीहरुलाई रक्तदान कार्यक्रमको आयोजना गर्न विशेष आग्रह गर्ने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस