गोरखा २२ जेष्ठ
गोरखाको आरुघाट गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार व्यक्तिहरुको लागि रोजगारीको अवसर प्रदान छ । गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत पारिश्रमिकमा आधारित आयोजना सञ्चालन गरी वेरोजगार व्यक्तिहरुलाई रोजगारीको अवसर प्रदान गरेको हो । आर्थिक बर्ष २०७६/०७७ को लागि केन्द्र सरकारबाट प्राप्त शसर्त अनुदान रकम रु २८ लाख ६८ हजार र गाउँपालिकाको रु १० लाख गरी कुल ३८ लाख ६८ हजार रकम विनियोजन गरेको हो । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत गाउँपालिकाको १० वटा वडाका १६ वटा विभिन्न आयोजनाहरु सञ्चालन गरी कुल ७ सय ८५ सुचिकृत बेरोजगार मध्ये ३ सय ८० जनालाई १५ दिनको रोजगारी समेत दिने भएको छ । विश्वव्यापी रुपमा फैलदै गएको कोरोना भाइरस(कोभिड १९) का कारण रोजगारी गुमेका र मजदुरी गरी बिहान बेलुकाको छाँक टार्ने मजदुरहरुलाई राहत स्वरुप उक्त आयोजना सञ्चालन गरी दैनिक ५ सय १७ रुपैयाका दरले दिइने रोजगार संयोजक महेश खत्रीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस