धादिङ १२ फागुन
भ्रमण वर्ष २०२० लाई लक्षित गरी साँतौ धादिङ महोत्सवमा प्याराग्लाइडिङ उडान गरिएको छ । धादिङ पर्यटकीय सम्भावनाले भरिपूर्ण छ भन्ने सन्देश दिनका लागि सोमबार मेलाको एघारौँ दिन प्याराग्लाइडिङ हवाई खेल गरिएको धादिङ उद्योग बाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्रीले बताउनु भयो । धादिङ महोत्सवमा सोमबार ६ वटा प्याराग्लाइडिङ सफल रुपमा महोत्सव स्थलमा ल्याण्ड गरिएको हो । धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर २ स्थित जुरेथुमबाट महोत्सव स्थिलमा २ वटा र हात्तीबुडी चौरमा ४ वटा ल्याण्ड गरिएको आयोजकले जानकारी दिएको छ ।
जिल्लाको नीलकण्ठ नगरपालिकामा पर्ने पात्ले र जुरेथुम शिद्धालेक गाउँपालिकामा पर्ने शिद्धालेक, ज्वालामूखी गाउँपालिकामा पर्ने मैदीकोट र त्रिपुरासुन्दरी गाउँपालिकामा पर्ने सल्यानटार लगायतका क्षेत्रमा प्याराग्लाइडिङको भविष्य सुन्दर भएको प्याराग्लाइडिङ पाइलट भीषण श्रेष्ठले बताउनु भयो । मेला महोत्सवमा प्याराग्लाइडिङद्धारा मनोरञ्जन लिन पाइने भएकाले महोत्सव स्थलमा पर्यटकहरुले समेत मेलाको अवलोकन गरेको आयोजक संस्थाले जानकारी दिएको छ । धादिङमा प्याराग्लाइडिङमार्फत प्रसिद्ध धार्मिक स्थलहरुको अवलोकन गर्न उपयुक्त अग्ला डाँडाहरु र प्याराग्लाइडिङ ल्यान्ड गर्ने समथर भागहरु प्रशस्त भएकाले प्याराग्लाइडिङको पर्यटकीय सम्भावना निकै रहेको छ ।. प्याराग्लाइडिङ रोमाञ्चक र साहासिक हवाई खेल हो । समयमै पर्यटकीय दृष्टिकोणले सम्भावना बोकेको प्याराग्लाइडिङलाई धादिङमा प्रयोग गर्न सकिए जिल्लाको पहिचान बढ्ने मात्रै होइन भ्रमण वर्ष २०२० लाई सफल बनाउन पनि थप टेवा पुग्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस