धादिङ ०९ माघ
कुष्ठरोग विरुद्ध हाम्रो अभियान, भेदभावको अन्त्य, मानव अधिकारको सम्मान भन्ने मुलनाराका साथ ६७ औं विश्व कुष्ठरोग दिवसका अवसरमा अन्तक्र्रिया कार्यक्रम बिहिबार धादिङबेसीमा सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय, धादिङ र नीलकण्ठ नगरपालिका स्वास्थ्य शाखा धादिङको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कुष्ठरोग बारे जनचेतना जगाउने, समुदायमा लुकी छिपी रहेका नयाँ विरामी पत्ता लगाउने मुख्य उद्देश्यका साथ उक्त कर्याक्रमको आयोजना गरिएको हो । कार्यक्रमका अध्यक्ष समेत रहनु भएका स्वास्थ्य कार्यालय धादिङका वरिष्ठ जनस्वास्थ्य प्रशासक भुवन पौडेलले विश्वमा २ लाख व्यक्तिहरुले कुष्ठरोगको उपचार गरिरहेको बताउनु भयो । कुष्ठ रोगलाई पुर्वजन्मको पापको रुपमा धर्मशास्मा उल्लेख गरेको बताउँदै पौडेलले समयमै औषधी सेवन गरे यो रोग निको हुने बताउनु भयो । नेपालबाट कुष्ठरोग निवारण मात्र होइन उन्मुलन नै गर्नुपर्ने पौडेलको भनाइ रहेको छ ।
धादिङ जिल्लामा कुष्ठरोग नियन्त्रण हुँदै गएको क्षयकुष्ठ अधिकृत तारा शर्मा ज्ञवालीले बताउनु भयो । वागमती प्रदेशमा २ सय ९४ जना कुष्ठरोगबाट प्रभावित विरामीहरु रहेको बताउँदै ज्ञवालीले धादिङ जिल्लामा १५ जना ब्यक्तिहरुलाई कुष्ठरोग देखा परेको जस मध्ये १२ जनाले काठमाडौँबाट र ३ जनाले धादिङबाट औषधी सेवन गरिरहेको बताउनु भयो । तराई लगायत १८ जिल्लामा हाल सम्म पनि कुष्ठरोग निवारण हुन नसकेको अधिकृत ज्ञवालीको भनाई छ ।
कुष्ठ रोग नियन्त्रणका लागि नीलकण्ठ नगरपालिकाले नगरपालिकाका विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने नीलकण्ठ नगरपालिका धादिङका स्वास्थ्य संयोजक बिष्णु रिजालले बताउनु भयो । यस रोगको किटाणु नर्बेका वैज्ञानिक डा. गेरहार्ड हेनरिक आर्मर हेन्सनले सन १८७३ मा पत्ता लगाएका थिए । नेपालमा २०६६ साल माघ ५ गते कुष्ठरोग निवारण भएको घोषणा गरिएको थियो । नेपालमा जम्मा ३ हजार २ सय ८२ जना नयाँ कुष्ठरोगका विरामीहरु रहेकोमा २ हजार ९ सय २१ ज्ना बिरामीहरुले नियमित औषधी सेवन गरिरहेका छन् । स्वास्थ्य कार्यालय धादिङका वरिष्ठ जनस्वास्थ्य प्रशासक भुवन पौडेलको अध्यक्षता रहेको कार्यक्रममा विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस