१५ वैशाख/धादिङ/ विद्यालय प्रवेश उमेर समूहका विद्यार्थीहरुलाई मायालु, घरायसी र पारिवारिक वातावरणमा विद्यालयमा पठन पाठन गर्नुपर्ने बाल विकासका क्षेत्रमा देशैभर शिक्षकहरुलाई प्रशिक्षण गर्दै आउनु भएकी सानू अमात्यले बताउनु भएको छ । धादिङ बोर्डिङ माध्यमिक विद्यालय र न्यु धादिङ बोर्डिङ स्कुलका पूर्व प्राथमिक तहका शिक्षकहरुलाई शनिबार प्रशिक्षण दिदै अमात्यले विद्यार्थीलाई पढाइ, लेखाइ भन्दा पहिला बाल अधिकार, बाल विकास, कक्षा प्रस्तुती, असल संस्कारको विकासमा जोड दिनुपर्ने बताउनु भयो । धादिङ बोर्डिङ माध्यमिक विद्यालयका प्रधानाध्यापको अध्यक्षता, बाल विकास विशेषज्ञ सानु अमात्यको प्रमुख आतिथ्यता, त्रिपुरा पुस्तक पसलका प्रोपाइटर नारायण कुमार श्रेष्ठ, गणेश हिमाल क्याम्पस धादिङका क्याम्पस प्रमुख ईश्वरी पाण्डेको विशेष उपस्थितिमा भएको पूर्व प्राथमिक तहका शिक्षकहरुका लागि आयोजित एक दिने कार्यशाला त्रिपुरा पुस्तक पसलको सहयोगमा सञ्चालन गरिएको हो ।
कार्यशालाको सहजीकरण गर्दै अमात्यले शिक्षकहरु शिक्षक नभइ सहजकर्ताको रुपमा प्रस्तुत हुनुपर्ने, विद्यार्थीहरुलाई बल प्रयोग गरेर होइन मनोरञ्जनात्मक वातावरणमा शिक्षण गर्नुपर्ने, विद्यार्थीहरुलाई तनावमा होइन शान्त वातावरणमा पठन पाठन गर्नुपर्ने, बालबालिकालाई दानव नभइ सच्चा मानव बनाउन शिक्षकहरुले भूमिका खेल्नुपर्ने बताउनु भयो । कार्यशालामा बोल्दै अमात्यले विद्यार्थी रिसाउदा उसको लिभरमा समस्या देखिने, तनावमा अध्ययन गर्दा दिमागमा समस्या देखिने भएकाले विद्यार्थीलाई घरायसी, मायालु र पारिवारिक वातावरणमा शिक्षण गर्न आग्रह गर्नुभयो । शिक्षकहरुले विद्यालयमा निर्धक्कताका साथ, तनावरहित वातावरणमा अध्यापन गराउनुपर्ने कुरा पनि बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस