धादिङ २६ मंसिर
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा रहेको धादिङ आवासिय माध्यमिक विद्यालयमा खेलकुद सप्ताह सुरु भएको छ ।
विद्यालयको वार्षिक कार्यक्रममा समावेश भए अनुसारको खेलकुद सप्ताहको मंगलबार उद्धघाटन गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुराम अधिकारीको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख भुपेन्द्र कुमारको प्रमुख आतिथ्यता रहेको थियो ।
विद्यालयका प्रधानाध्यापक ईश्वरी प्रसाद पाण्डेले विद्यार्थीहरुको चौतर्फी विकासको लागि खेलकुद अनिवार्य रहेको बताउनुभयो । त्यसैगरि विद्यालयका खेलकुद कार्यक्रम संयोजक सन्तोष श्रेष्ठले खेलकुद सप्ताहको पहिलो दिनमा एथ्लेटिक्स तर्फको खेलहरु खेलाईएको बताउनुभयो ।
उहाँले खेललाई अनुशासित ढंगले स्वास्थ्यका लागि खेलकुद र राष्ट्रका लागि खेलकुद भन्ने नारालाई ध्यानमा राखेर खेलाईने बताउनुभयो । मंगलबारबाट सुरु भएको खेल सप्ताह २८ गते सम्म सञ्चालन हुने छ ।
प्रतिक्रिया दिनुहोस