धादिङ ४ मंसिर
धादिङको पालिका स्तरीय महिला/पुरुष भलिबल प्रतियोगिता बिहिबारदेखी सुरु हुने भएको छ ।
जिल्ला भलिबल संघ धादिङले पर्सी बिहिबारदेखी सुरु हुने जिल्ला स्तरीय महिला/पुरुष भलिबल प्रतियोगिताको खेल तालिका (टाईसिट) सार्वजनिक गरेको छ ।
धादिङ जिल्ला भलिबल टिमका पूर्व कप्तान स्व.मनोज श्रेष्ठको स्मृतिमा आयोजना गरेको महिला/पुरुष भलिबल प्रतियोगिताको खेल तालिका मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको हो ।
भलिबल संघ धादिङका अध्यक्ष अमृत गुरुङ (तिलक)को अध्यक्षतामा भएको खेल तालिका सार्वजनिक कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रतासिंह तामाङको प्रमुख आतिथ्यता,कार्यालय सचिव रमेशमान तुलाधर, रेफ्री संयोजक सोम श्रेष्ठ लगाएतको आतिथ्यता रहेको थियो ।
मंसिर ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुष तर्फ ११ टिम र महिलातर्फ ८ टिम रहेका छन् ।
जसअनुसार पुरुषमा रुवीभ्याली गाउँपालिका, खनियावास गाउँपालिका, लिङ्जो युवा क्लब, सिङ्गङ एकता समाज, नेत्रावति डबजोङ गाउँपालिका, गंगाजमुना गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, ज्वालामुखी गाउँपालिका, निलकण्ठ नगरपालिका, सिद्धलेक गाउँपालिका र गल्छी गाउँपालिका रहेको छ ।
त्यस्तै महिला तर्फ गंगाजमुना गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, ज्वालामुखी गाउँपालिका, निलकण्ठ नगरपालिका, सिद्धलेक गाउँपालिका, गल्छी गाउँपालिका, बेनीघाट रोराङ गाउँपालिका र केबलपुर हरिहर भोजकुमारि मा.वि. थाक्रे रहेको छ।
प्रतियोगिता लिक कम नक आउटका आधारमा सञ्चालन हुने भलिबल संघका अध्यक्ष गुरुङले जानकारी दिनुभयो।
प्रतियोगिताको उद्घाटन बिहिबार दिउँसो २ बजे हुने भएता पनि खेल भने विहान ८ बजेबाट नै सुरु गरिने गुरुङले बताउनुभयो।
उहाँका अनुसार उद्घाटन समारोहमा सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडा र समापन समारोहमा नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यता रहने छ ।
पुरुष भलिबलमा प्रथम हुनेले नगद १ लाख १ हजार १११ सहित ट्रफि,मेडल र प्रमाणपत्र, दोस्रो पुरस्कार नगद ५५ हजार ५५५ र सेमिफाइनलमा पुग्ने टिमहरुले रु.२०/२० हजार पाउने छन् ।
त्यस्तै महिला भलिबल तर्फ प्रथम हुनेले नगद ५५ हजार ५५५ सहित ट्रफि,मेडल र प्रमाणपत्र, द्वितीय हुनेले ३० हजार ३३० र सेमिफाइनल पुग्ने टिमहरुले रु.१५/१५ हजार पाउने छन् ।
यसैगरी विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर, उत्कृष्ट लिब्रो र उत्कृष्ट कोचले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
धादिङको गंगाजमुना गाउँपालिका–४,गुम्दी घर भएका धादिङ भलिबल टिमका कप्तान श्रेष्ठको ०८० कात्तिक ९ गते सिद्धलेकको खिर्रेभञ्याङमा आयोजित भलिबल प्रतियोगिताकै समयमा निधन भएको थियो।
टिपटप हेल्प नेपालबाट प्रधानमन्त्री कप एनभीए समेत खेलेका श्रेष्ठको कप्तानीमा धादिङले बागमती प्रदेश स्तरिय प्रतियोगिता समेत जितेको थियो ।
उनैको सम्झनामा स्मृति कप आयोजना गरिएको भलिबल संघका अध्यक्ष गुरुङले बताउनुभयो । यस प्रतियोगिताबाट महिला/पुरुष दुबै तर्फ खेलाडी छनौट गरी जिल्ला स्तरिय टिम निर्माण गर्न पनि सहज हुने उहाँको भनाई छ।
प्रतियोगितामा सहभागी हुने सम्पूर्ण खेलाडीको बिमा पनि गरिने उहाँको भनाई छ।
प्रतियोगिता सभ्य र भव्य रूपमा सफल पार्नको लागि आर्थिक सहयोग गरिदिन उहाँले देश तथा विदेशमा रहेका शुभचिन्तकहरुलाई अपिल समेत गर्नु भएको छ।
प्रतिक्रिया दिनुहोस