धादिङ १० कार्तिक
अनन्त आशा नेपाल चितवनको १० औं साधारण सभा तथा ३ महिने सिलाई कटाई तालिमको समापन समारोह सम्पन्न भएको छ ।
शिक्षा,प्रोत्साहन र सशक्तिकरण भन्ने परिकल्पनाको साथ विपन्न र पिछडिएको बालबालिका र महिलाको क्षेत्रमा कार्य गर्दै आईरहेको संस्था अनन्त आशा नेपालले शनिबार आरोहण शिक्षालय नीलकण्ठ ८ रामकोटमा एक भव्य कार्यक्रमको आयोजना गर्दै आफ्नो १० औं साधारण सभा तथा ३ महिने सिलाई कटाई तालिमको समापन समारोह सम्पन्न गरेको हो ।
अनन्त आशा नेपालका अध्यक्ष लक्ष्मी महर्जनको अध्यक्षतामा सम्पन्न भएको सभामा नीलकण्ठ नगरपालिकाको नगर प्रवक्ता एवम् नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।

त्यसैगरि विशेष अतिथिको रुपमा समाजसेवी एवम् भेटेरेनरी डाक्टर अजिरमान सिंह डंगोल, त्रिरत्न शाक्य, नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का निवर्तमान वडा अध्यक्ष गुण बहादुर थपलिया, नीलकण्ठ नगरपालिकाको श्रोत व्यक्ति मेघनाथ कोईरालाको अतिथ्यता रहेको थियो ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा वडा नम्बर ८ का वडा अध्यक्ष प्रकाश श्रेष्ठले औपचारिक तालिमको समापन भएतापनि तालिममा सिकेको सिपले दैनिकी चलाउन र जिविकोपार्जन गर्न सहजता प्रदान गर्ने बताउनुभएको छ । साथै अनन्त आशा नेपालले आफ्नो समुदायको सामाजिक, आर्थिक र शैक्षिक स्तर सुधारमा पहल र कार्यक्रमहरु गरेकोले आभार व्यक्त गर्नुभयो ।
त्यसैगरी संस्थाले ३ महिने सिलाईकटाई तालिममा सक्रिय सहभागिता जनाएका ३४ जना महिलाहरुलाई प्रमाण पत्रद्धारा सम्मान गरेको छ । आफुहरुले जिरो लेबलबाट अहिले आफ्नो लागि कपडा आफैले सिलाउन सक्ने अवस्थासम्म पुगेको र आफुमा केहि गर्छु भन्ने आट र हौसला मिलेको तालिममा सहभागि महिलाहरु बताउछन् । त्यस्तै अनन्त आशा नेपालको सचिव प्रोफेसर डा.सुष्मा महर्जनले संस्थाको सुरुवाती ईतिहास र संस्थाले गर्ने मुख्य कार्यहरुको बारेमा स्पष्ट पार्नुभएको थियो ।
अनन्त आशा नेपालले सीमान्तकृत र लक्षित वर्गहरुलाई सशक्त बनाउँदै उनिहरुको आधारभुत अभिकारहरुलाई सुनिश्चत गर्दै र विपद् व्यवस्थापन , स्वास्थ्य, शिक्षा र जीविकोपार्जनका क्षेत्रमा सेवाहरु पुर्याउन सहयोग गर्दै आईरहेको छ ।

संस्थाले असाहय, उत्पीडित तथा असक्त व्यक्तिहरुको लागि सहयोग गर्ने, महिला सशक्तिकरण सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने उद्धेश्यले अनन्त आशा अन्तर्राष्ट्रिय, यु एस ए, किशोरीहरुको दिन नेपाल ( डेज फर गल्र्स ), स्थानीय सरकार नीलकण्ठ नगरपालिका धादिङ, ईच्छाकामना गाउँपालिका चितवन, कालिका नगरपालिका, सामुदायिक विद्यालयहरु स्थानीय गैरसरकारी संस्थाहरुको समन्वय र सहकार्यमा विभिन्न कार्यक्रमहरु संञ्चालन गर्दै आईरहेको छ ।
साथै कार्यक्रममा नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का वडा सदस्यहरु अनन्त आशा नेपालका कर्मचारीहरु विभिन्न पार्टीका प्रतिनिधीहरु र विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस