धादिङ २१ साउन
सदरमुकाम धादिङवेशीबाट सिरान बजार हुँदै पलाखु खोला(स्याउली), डाँडा गाउँ, रातमाटे भर्याङभुरुङ सडक खण्ड अन्तर्गत दशौँ ठाउँमा पहिरोले सडक अवरुद्ध भएको छ ।
नेत्रावती डब्जोङ गाउँपालिका, छिमेकी जिल्ला नुवाकोटको म्यागङ गाउँपालिकाका केहि क्षेत्र र नीलकण्ठ नगरपालिका वडा नम्बर १४ का सयौँको संख्यामा दैनिक आवत जावत गर्ने मानिसहरुले सास्ती खेप्न परेको छ । पहिरोका ढिस्कोले सडक पुरिएको छ भने कतै सडक भासिएर चिरा परेको छ ।
सामान्य मर्मतमा दैनिक रुपमा सवारी साधन चलेपनि उच्च जोखिम पार गर्दै यात्रा गर्नु पर्ने वाध्यता छ । सिरान बजार देखि स्याउली खडक खण्ड पिच गरिएको सडक भासिएर चिरा परेको छ भने कतै पहिरोले पुरिएर बगर बनेको छ ।
वर्षातका कारण सडक अवरुद्ध हुँदा त्रासपुर्ण यात्रा गर्न बाध्यता भएकाले सम्बन्धित निकायले आवश्यक पहल गर्नुपर्ने स्थानीयको भनाई छ । घुम्ती मोडमा एकतर्फी सवारी हाक्नु पर्दा दुर्घटना हुँन सक्ने जोखिम बढेको सवारी चालकहरुको भनाई छ ।
‘‘पटक पटकको भारी वर्षातका कारण सडकमा समस्या श्रृजना हुँदा नागरिकलाई यात्रा गर्न पहिलाको तुलनामा कठिन भएको अवस्था छ,वडा सरकारले सडक मर्मत तथा पहिरो पन्छाएर सवारी साधन आवत जावात गर्न मिल्ने बनाई रहेको छु’’–नीलकण्ठ नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष नवराज दुवाडीले रेडियो बिहानीलाई बताउनुभयो ।
धादिङवेशी पलाखु खोला(स्याउली), डाँडा गाउँ हुदैँ रातमाटे भर्याङभुरुङ सडक खण्ड अहिले पिचको चरणमा छ,ठेक्का प्रक्रियामा गएर काम अगाडि बढेको अवस्था छ,ठेकेदार कम्पनीले ढिलासुस्ती गरिएको कारण समयमा निर्माण सम्पन्न नहुँदा थप समस्या भएको बताउनुभयो । उक्त सडक खण्डमा पहिरोका कारण सडक अवरुद्ध भएमा ठेकेदार कम्पनीले नै पहिरो पन्छाउने,सडक मर्मत तथा पहिरो पन्छाएर सवारी साधन चल्न सक्ने बनाउन दैनिक आग्रह गरिरहेको वडा अध्यक्ष दुवाडीले बताउनुभयो ।
उक्त सडकमा दैनिक सयौँको संख्यामा नेत्रावती डब्जोङ गाउँपालिकाको मार्पाक,सेम्जोङ कटुन्जे,सेल्ले,घोर्मु दुईघरे,थर्पु, कल्लेरी, छिमेकी जिल्ला नुवाकोटको म्यागङ गाउँपालिकाका केहि क्षेत्र र नीलकण्ठ नगरपालिका वडा नम्बर १४ का नागरिकहरु यात्रा गर्ने गर्दछ ।
प्रतिक्रिया दिनुहोस