धादिङ २३ जेठ
धादिङको वेनीघाट रोराङ गाउँपालिकामा आधुनिक मेशिनद्धारा दुना टपरी बनाउने तालिम सम्पन्न भएको छ ।
बुधबार वडा नम्बर ५ स्थित एक कार्यक्रमको आयोजना गरि वेनीघाट सामूदायिक सिकाई केन्द्रको अध्यक्ष पार्वती सेँढाई कँडेलको अध्यक्षता वडा नम्बर ५ को वडा अध्यक्ष रोशन कुमार सिलवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । उक्त तीन दिने तालिमको प्रशिक्षक जुना राणा मगरले सहजीकरण गर्नुभएको थियो ।
वेनीघाट सामूदायिक सिकाई केन्द्रको आयोजना तथा वेनीघाट रोराङ गाउँपालिकाको आर्थिक सहयोग रहेको उक्त ३ दिने तालिममा वडा नम्बर ३, ४ र ५ का ६० जना महिलाहरुको सहभागीता रहेको थियो ।
गाउँपालिकाको आर्थिक सहयोगमा सिमान्तकृत, आर्थिक रुपमा कमजोर भएको, पिछडिएका महिला दलित जनजाति समूदायलाई आर्थिक उपार्जन संगै महिला क्षमता अभिबृद्धि लगायतका व्यवसायिक सिपमुलक तालिम सञ्चालन गरिएको वडा नम्बर ५ का वडा अध्यक्ष रोशन कुमार सिलवालले बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षमा उत्पादनमुखी व्यवसायिक सिपमूलक तालिमहरु थप व्यवस्थित बनाउदै वजेट व्यवस्थापन गर्ने बताउनुभयो ।
त्यस्तै वेनीघाट सामूदायिक सिकाई केन्द्रका अध्यक्ष पार्वती सेँढाई कँडेलले वातावरणीय प्रदुषणलाई न्युनीकरण गरी स्थानीय वन जंगलमा खेर गईरहेका सालको पातलाई आधुनिक मेशिनको प्रयोग गरि आकर्षक दुना टपरी बनाई महिला दिदीबहिनीको आर्थिक अवस्था सुधार संगै सामाजिक बिकासमा महिला सहभागीता बढाउने उद्धेश्यकासाथ कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँले उत्पादन भएका दुना टपरी लगायतका बस्तुहरुको बजार व्यवस्थापनमा सहयोग गर्ने बताउनुभयो । महिला क्षमता व्यवसायिक सिप प्रबद्र्धनमा आर्थिक सहयोग गरेकोमा गाउँपालिकालाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।
लक्षित वर्ग समूदायलाई केन्द्रित गरी व्यवसायिक सीप मुलक तालिमको आयोजनाले आर्थिकरुपमा सहयोग पुग्ने सहभागीहरुको भनाई छ । सामाजिक परिचालिका अमृता श्रेष्ठले सञ्चालन गरेको तालिममा सामूदायिक सिकाई केन्द्रको सञ्चालक समिती सदस्य घनश्याम पाण्डे, कार्यपालिका सदस्य, वडा सदस्य, विभिन्न राजनैतिक दल, समाजसेवी पत्रकार लगायतको भव्य सहभागीता रहेको थियो ।
आत्म निर्भर,उद्यमी नारीको पहिचान,वेनीघाट सामूदायिक सिकाई केन्द्रको अभियान भन्ने नारासाथ सुरु भएको तीन दिने तालिम बुधबार समापन भएको हो ।
प्रतिक्रिया दिनुहोस