धादिङ १५ फाल्गुन
धादिङको गजुरी गाउँपालिकाबाट अवैध लागूऔषध सहित एक जना पक्राउ परेका छन् ।
गजुरी गाउँपालिका–२ स्थित विहानी पेट्रोल पम्प नजिकैबाट अवैध लागूऔषध ६२० किलो भन्दा बढि गाँजासहित एक जना पक्राउ परेको हो ।
मंगलबार विहान करिब ३ः४५ बजे जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक गौतम कुमार के.सीको कमाण्डमा खटिएको प्रहरी टोलीले सर्लाही लालबन्दी नगरपालिका–७ बस्ने २९ वर्षीय सन्तोष कुमार साहलाई ६ सय २० किलो ४४ ग्राम गाँजासहित पक्राउ गरेको हो ।
पक्राउ परेका साहलाई जिल्ला प्रहरी कार्यालयले मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
पृथ्वी राजमार्गबाट ठुलो परिमाणको गाँजा मिनीट्रकमा लोड भई पूर्वबाट पश्चिमतर्फ लैजादै गरेको भन्ने विशेष सुचनाको आधारमा सवारी साधनहरु चेकजाँच गर्ने क्रममा काठमाण्डौबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ८३०९ नम्बरको मिनिट्रकमा कवाडीको समानभित्र लुकाई राखेको गाँजा फेला पारी ट्रक चालक साहलाई पक्राउ गरिएको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक केसीले बताउनुभयो ।
ट्रकमा कवाडीजन्य सामाग्रीहरुले छोपी ४५ प्याकेट रातो प्लाष्टिकको वाहिरी भागमा प्लाष्टिकको सुतली डोरीले बाँधी पुनः वाहिरी भागमा पानी टेपले ¥यापिङ गरी चाउचाउ र विस्कुटको खोल टासेको अवस्थामा गाँजा फेला परेको केसीले बताउनुभयो ।
पक्राउ परेका साहले विक्री प्रयोजनको लागि विदेशी बजारमा लैजादै गरेको भन्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको र अन्य थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस