धादिङ २५ माघ
धादिङमा तस्बिर तथा दृष्य सम्पादन सम्बन्धी पत्रकारिता तालिम विहिबार सम्पन्न भएको छ ।
नेपाल आदिवासि जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा धादिङको आयोजना र नीलकण्ठ नगरपालिकाको सहयोगमा माघ २३ गते देखि सञ्चालन भएको तालिमको विहिबार नीलकण्ठ नगरपालिकाको उपप्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यतामा समापन भएको हो ।
धादिङको दलित तथा जनजाति पत्रकारलाई विद्युतिय प्रविधिसँग जोड्ने र पत्रकारिता पेशामा दक्ष बनाई आत्म निर्भर बनाउने उद्देश्ले पत्रकारिता तालिमको आयोजना गरिएको नेपाल आदिवासि जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा धादिङको अध्यक्ष अर्जुन श्रेष्ठले बताउनुभयो ।
समापन समारोहलाई सम्बोधन गर्दै नीलकण्ठ नगरपालिकाका उपप्रमुख एवम् प्रमुख अतिथि दिपक विश्वकर्माले पत्रकारहरू मुलुकको चौथो अंग भएको र सदैव सुशासनको पक्षमा नै लाग्नुपर्ने बताउनुभयो ।
उहाँले पत्रकारहरुको आजको दायित्व भनेको सदैव अनियमितता र भ्रष्ट्रचारको विरुद्धको अभियान तर्फ सिपाहीको भुमिका निर्वाह गर्नु भएको बताउनुभएको छ । त्यसै गरि संविधानले उल्लेख गरेको विभिन्न जाति धर्म र सामाजिक न्यायका पक्षमा निति तथा नियम कार्यन्वयनका निमित्त संचार माध्यमको ठुलो भूमिका रहेको बताउनुभयो ।
उहाँले समाजका हरेक गतिविधिलाई नियालेर त्यसको सुधार गर्नेतर्फ आफ्ना पाइलाहरू र आफ्ना कलमहरू समाजको समृद्धि र समाजको विकास तर्फ लैजाने छ भन्ने कुरामा आफु विश्वस्त रहेको बताउनुभयो ।
त्यस्तै पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले उक्त ३ दिनको क्षमता विकास तालिमले सम्पूर्ण सहभागी पत्रकारको पत्रकारितामा सकारात्मक प्रभाव पर्ने र तालिमबाट सिकेका ज्ञान तथा सिपहरुलाई उपयोगी ढंगबाट प्रयोग गर्न आग्रह गर्नुभयो ।
तालिममा सहभागी सम्पुर्ण पत्रकारहरुले उक्त ३ दिनको तालिम आफुहरुको लागि निकै उपलब्धीमुलक भएको र यसले आफ्नो पत्रकारिता पेशामा धेरै सहयोग पुग्ने बताउदै आयोजक संस्था र नीलकण्ठ नगरपालिका प्रति धन्यवाद व्यक्त गरेका थिए ।
मंगलबारबाट शुरु भएको फोटो सप तथा भिडियो सम्पादन सम्बन्धी पत्रकारिता तालिममा ध्रुव प्रसाद पराजुलीले प्रशिक्षण गराउनुभएको थियो ।
उक्त कार्यक्रम नेपाल आदिवासि जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा धादिङको अध्यक्ष अर्जुन श्रेष्ठको अध्यक्षता, नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यता, पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मा, तामाङ पत्रकार संघ धादिङका अध्यक्ष एवम् रेडियो विहानीका स्टेशन म्यानेजर निर तामाङ र प्रशिक्षक ध्रुव प्रसाद पराजुलीको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस