धादिङ ३ जेठ
धादिङको खनियाबास गाउँपालिकाले स्थानीय पालिकाबाटै श्रमस्वीकृति दिने व्यवस्था मिलाएको छ ।
वैदेशिक रोजगारीलाई थप व्यवस्थित, सुरक्षित, मर्यादित, भरपर्दोे तथा सहज बनाउन वैदेशिक रोजगारीमा जानेहरूका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि बुधबारबाट गाउँपालिकाबाटै दिन सकिने गाउँपालिकाको रोजगार संयोजक भीष्मा पाख्रीनले जानकारी दिनुभयो ।
सरकारले २०७९ चैत १६ गते स्थानीय तहबाट श्रम स्वीकृति दिने व्यवस्था गर्ने निर्णय गरेको थियो । उक्त सेवा वैशाख १ गतेदेखि सुरु गरेता पनि गाउँपालिकाले रोजगार संयोजक र सहायकलाइ तालिम दिएपश्चात बुधबारदेखि कार्यान्वयनमा ल्याएको पाख्रीनले बताउनुभयो ।
अनलाइन आवेदनका लागि नेपाली नागरिकताको सक्कल, भिसाको कागजात, करार सम्झौता पत्र, सम्बन्धित व्यक्तिको बैंक खाता विवरण, स्वास्थ्य परिक्षण र अभिमुखिकरण,तालिमको प्रमाणपत्र, म्यादी जीवन बिमाको कागजात, कल्याणकारी कोषमा रकम तिरेको बैंक भौचर, पासपोर्ट साइजको २ प्रती फोटो आवश्यक पर्ने पाख्रीनले बताउनुभयो ।
बैदेशिक रोजगार ऐन, २०६४ तथा बैदेशिक रोजगार नियमावली, २०६४ मा भएको व्यवस्था अनुसार बैदेशिक रोजगारीमा जाने हरेक नेपाली नागरिकले अनिवार्य रुपमा श्रम स्वीकृति लिनुपर्ने व्यवस्था रहेको छ ।
प्रतिक्रिया दिनुहोस