धादिङ ०५ आषाढ
शरीरलाई स्वस्थ राख्नको लागि खाना, व्यायाम र आरामलाई मुख्य रुपमा ध्यान दिनुपर्ने डा. विनोद पौडलले बताउनु भएको छ । बिहीबार पतञ्जली योग समिति धादिङले पाँचौ अन्तराष्ट्रिय योग दिवसको पूर्व सन्ध्यामा आयोजना गरेको प्राकृतिक चिकित्सा र स्वस्थ जीवनशैली पद्धतिका बारेमा गरेको प्रशिक्षण कार्यक्रममा यस्तो बताउनु भएको हो । शारीरिक अभ्यासको कमी, खराब खानपान, तनावयुक्त जीवन, आरामको कमी, प्रदुषित वातावरण आदिका कारण विभिन्न खाले रोगहरु फैलदैँ गरेकाले खानपान, जीवनशैलीलाई परिवर्तन गरी नियमित रुपमा योगाभ्यास गर्ने हो भने रोगहरुबाट मुक्त हुन सकिने समेत बताउनु भयो ।
नियमित योग अभ्यास, शारीरिक व्यायामका साथै खानपानमा गहुँको पिठोलाई चोकरसहित प्रयोग गर्ने, काचो खानेकुरा बढी खाने, भुटेको तारेको, माइक्रो ओभनमा तताएको अथवा धेरै तापक्रममा पकाएको खानेकुराहरु नखाने, दूध र दूग्धजन्य पदार्थहरु बाहेक जनावरहरुबाट बनेका परिकारहरु सेवन नगर्ने, मोबाइल फोनको प्रयोग कम गर्ने, चिनीको प्रयोग कम गर्ने, सकारात्मक सोचको विकास गर्ने, नयाँ ठाउँको भ्रमण गर्ने गरेमा रोगहरुबाट मुक्ति पाइने उहाँले बताउनु भयो । पतञ्जली योग समितिले आयोजना गरेको उक्त प्रशिक्षणमा प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय, प्रहरी प्रमुख राज कुमार बैदवार, प्रस्तावित नेपाल प्राकृतिक चिकित्सा, सामुदायिक शिक्षण अस्पताल रजहर नवलपरासीका अध्यक्ष सन्त बहादुर क्षेत्री, निर्देशक डा. विनोद पौडेल, पतञ्जली योग समिति धादिङका अध्यक्ष गोविन्द श्रेष्ठ लगायत १ सय ५० जना भन्दा बढी योग शिक्षक र योगाका साधकहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमकै बीच प्रस्तावित नेपाल प्राकृतिक चिकित्सा, सामुदायिक शिक्षण अस्पताल रजहर नवलपरासी र पतञ्जली योग समिति धादिङबीच आपसी सहकार्य गर्ने समझदारी समेत भएको छ । पतञ्जली योग समिति धादिङमा आबद्ध सदस्यहरुले पतञ्जली योग समितिको परिचय पत्रका साथ प्रस्तावित नेपाल प्राकृतिक चिकित्सा, सामुदायिक शिक्षण अस्पताल रजहर नवलपरासीमा उपचार गराउन जाँदा सम्पूर्ण उपचार खर्चको १५ प्रतिशत छुट गराउने प्रतिबद्धता अस्पतालका अध्यक्ष सन्त बहादुर क्षेत्रीले गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस